काठमाडौँ । सूचना प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । विशेषगरी फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्रामको प्रयोग धेरैले गर्छन् । तर, पछिल्लो समय सामाजिक सञ्जालमा ज्यादा छाडापन देखिन थालेको छ । त्यसमा पनि अरुलाई नियम सिकाउने सरकारी कर्मचारीहरु नै सामाजिक सञ्जाल दुरुपयोगमा अगाडि छन् ।
केही समय अघि खोटाङ जन्तेढुङ्गा–१ देवीस्थानमा रहेको बाकुला आधारभूत विद्यालयकी प्रधानाध्यापक उमा कटवालले बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो । विद्यालयको प्रधानाध्यापक जस्तो समवेदनशील पदमा बसेर छाडा टिकटक बनाएकी कटवाललाई जन्तेढुंगा गाउँपालिकाले लिखित र कार्यालयमै उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधेको थियो । एक महिना अघि स्पष्टिकरण दिएकी कटवालले अहिले भने भद्दा र उच्छृङ्खल टिकटक बनाएकी छैनन् । गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत प्रवेश निरौलाले व्यापक जनगुनासो आएपछि कटवाललाई स्पष्टिकरण सोधेर आइन्दा पदीय गरिमालाई बिर्सेर टिकटक नबनाउन भनिएको जानकारी दिए ।








