काठमाडौं : उतारचढावका बाबजुत अन्ततः सोमबार पनि नेप्से सूचक सकारात्मक भएर बन्द भएको छ । सोमबार सूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा बन्द भएको छ । ५ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेले इन्ट्रा डे मा २ हजार विन्दु क्रस गरेपछि केही करेक्सन आयो ।
बजार खुलेको केही समयमै सूचकले आम लगानीकर्ताको मनोविज्ञानमा महत्वपूर्ण प्रभाव पार्ने २ हजार विन्दु पार गरेको हो । त्यसपछि भने नाफा बुकका लागि ट्रेडरहरु सक्रिय हुँदा सूचकले सामान्य दबाबको सामना गर्नुपरेको हो । कारोबार अवधिभर नेप्सेमा उतारचढाव पनि आइरह्यो । सूचक छिनछिनमै हरियो र रातो हुनेक्रम जारी रह्यो । तथापि, अन्तिममा बजार हरियो नै रहन सफल भयो ।






