नेपाल रिपब्लिका मिडिया लिमिटेडले पहिलो चरणको आईपिओ अर्थात विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।
योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै ३० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म शेयर पाएका छन् ।





