रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आज बिहीबारदेखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझ ५ः०२ बजेसम्ममा २ लाख ३३ हजार २९० आवेदनबाट २६ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको २६ लाख १० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि छुटाइएको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको ४.०५ गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकी रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले जेठ २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।






