नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो। 'नबिल बैंक अब तपाईसँग अझै नजिक' भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरिएको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो। त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।  


डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ। उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको छ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर  विस्तार  गरेको बैंकले जनाएको छ।