शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयरमूल्य सबैभन्दा सस्तो देखिएको छ। ८ वटा भन्दा बढी बैंकको शेयरमूल्य २०० रुपैयाँभन्दा कम छ।
गत बुधबारसम्मको कारोबार हेर्दा प्रभु बैंकको शेयरमूल्य सूचीकृत कम्पनीहरुमा सबैभन्दा कम छ। उसको शेयर प्रतिकित्ता १६९ रुपैयाँमा कारोबार भएको छ। यस्तै, कुमारी बैंकको पनि प्रतिकित्ता १७९.२ रुपैयाँमा खरिद बिक्री भएको छ।
यसबाहेक सिटिजन्स बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्शियल बैंकको पनि शेयरमूल्य २०० रुपैयाँभन्दा कम छ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अन्य समूहका कम्पनीहरुभन्दा वाणिज्य बैंकहरुको शेयरमूल्य तल देखिएको छ। केहि वर्ष अघि अंकित मूल्यभन्दा तल झरेको हाइड्रोपावरको शेयरमूल्य अहिले वाणिज्य बैंकहरुको भन्दा माथि छ। हाइड्रोपावर कम्पनीहरुमा पनि हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा कम १७४ रुपैयाँ रहेको छ।
- एक दर्जन बैंकको पिई रेशियो १५ गुणाभन्दा कम
वाणिज्य बैंकहरुको औसत मूल्य आम्दानी अनुपात (पिई रेशियो) १६ गुणा मात्र देखिएको छ। बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिशेयर आम्दानी र बुधबारको मूल्यका आधारमा अधिकाँश वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा कम देखिएको छ।
वाणिज्य बैंकहरुको शेयर मूल्य घटेर तल्लो विन्दुमा झरेपछि उनीहरुको मूल्य आम्दानी अनुपात पनि घटेको छ। २० वाणिज्य बैंकहरुमा १४ वटा बैंकको पिई रेशियो १६ गुणाभन्दा कम छ। तीन बैंकको मात्रै पिई रेशियो २० गुणाभन्दा बढी छ।
यस अवधिमा ग्लोबल आइएमई बैंकको पिई रेशियो सबैभन्दा कम ११.५५ गुणा मात्रै देखिएको छ।
वाणिज्य बैंकहरुमा कृषि विकास बैंकको पिई रेशियो सबैभन्दा धेरै ३३.०५ गुणा रहेको छ भने नविल बैंकको २४.०५ गुणा, हिमालयन बैंकको २०.७७ गुणा र कुमारी बैंकको १८.२९ गुणा रहेको छ।






