काठमाडौं : भारतीय सेयर बजारमा शुक्रबार आकर्षक सुधार देखिएको छ । भारतको प्रमुख सेयेर बजार सूचक ‘बीएसइ सेन्सेक्स’ शुक्रबार १.०२% ले बढेर ६२,५०१ विन्दुमा बन्द भएको छ । जुन सन् २०२३ कै सबैभन्दा उच्च क्लोजिङ विन्दु हो । भारतको अर्को सूचक ‘निफ्टी ५०’ पनि यस वर्षकै उच्च विन्दुमा बन्द भएको छ । शुक्रबार निफ्टी ०.९९% ले बढेर १८,४९९ विन्दुमा पुगेको हो ।
पछिल्लो समय भारतीय सेयर बजारमा सुधार जारी रहेको छ । करिब २ महिनाको अवधिमै सेक्सेक्स ५,००० अंकले बढेपछि अल टाइम हाई विन्दु नजिक पुग्न लागेको छ । सेन्सेक्सले सन् २०२२ को डिसेम्बरमा इतिहासकै उच्च ६३,५८३ विन्दु छोएको थियो । यसआधारमा, हाल सेन्सेक्स अल टाइम हाई रेकर्डबाट करिब ११ सय अंक मात्र पछि रहेको छ । शुक्रबार सेयर बजारमा उछाल आउँदा भारतीय लगानीकर्ताहरुको सम्पति एकै दिनमा २० खर्ब भारतीय रुपैयाँले बढेको छ ।






