लामो समयको गिरावटपछि सेयर बजार पुनः लयमा फर्कन सुरु गरेको छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकमा सकारात्मक परिवर्तन आउँदा बजार लयमा फर्कन थालेको हो ।
निरन्तर गिरावट आएको सेयर बजार गत साताको मंगलबारदेखि लगातार बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले बुधबार यस साताको अन्तिम दिन कारोबार भएको थियो । त्यसदिन सेयर बजार १६.४९ अंकले बढेर १ हजार ९ सय ५९ दशमलव १२ विन्दुमा कायम भयो ।
बजेटको मुखमा आइपुग्दा बजारमा लगानीकर्ताको सक्रियता बढ्दै गएको छ । जसकारण सेयर बजार लगातार सात दिनसम्म बढेको हो । यो वृद्धि अब निरन्तर रहने अपेक्षामा लगानीकर्ताहरू रहेका छन् । गत साताको मंगलबारदेखि यस साताको बुधबारसम्म आइपुग्दा नेप्से परिसूचक ७.७४ प्रतिशतले बढेको छ । परिसूचक बढ्दै जाँदा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा मात्रै लगानीकर्ताको सम्पत्ति दुई खर्ब सात अर्ब रुपैयाँले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।






