काठमाडौँ — पछिल्लो समय विश्वव्यापी रूपमै अनेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा र प्रयोग बढिरहेका बेला नेपालका स्थानीय तहहरूले पनि एआईलाई सूचना प्रवाह र जनसम्पर्कको एक भागका रूपमा सामेल गर्न थालेका छन् । देशभरका विभिन्न पालिकाले देवनागरी, रोमन र स्थानीय भाषासमेत बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबट, भ्वाइसबटलगायत टुलहरू आफ्ना वेबसाइट, एप र सामाजिक सञ्जालका खाताहरूमा राख्ने गरेका छन् ।
‘प्रयोगकर्ताले लेखेका शब्द मात्रै होइन सन्दर्भ बुझ्ने र पुरानो संवाद पनि आफ्नो मेमोरीमा राखिरहन सक्ने खालको च्याटबट हामीलाई चाहिएको छ,’ ललितपुर महानगरपालिकाका कम्प्युटर इन्जिनियर गौरव लामिछाने भन्छन्, ‘यस्तो च्याटबट विकासका लागि हामी डेलेपरहरूसँग मिलेर काम गरिरहेका छौं । हाल ७० प्रतिशत काम सकिसक्यो । अबको एक/डेढ महिनामा हाम्रा विभिन्न प्लाटफर्ममा स्मार्ट एआई च्याटबट उपलब्ध हुनेछन् ।’ उनका अनुसार ती च्याटबटले महानगरपालिका र त्यहाँबाट पाइने सेवा तथा सूचनाहरूबारे जिज्ञासा राख्दा जवाफ दिन्छन् । अहिले भइरहेका कतिपय निकायका च्याटबटभन्दा गतिला र उपयोगी बट बनाउन खोजिएको उनको भनाइ छ ।







