मौद्रिक नीतिको समीक्षाले शेयर बजारलाई राहत नदिएपनि आगामी बजेटले भने राहत दिने अपेक्षा लगानीकर्ताले गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनु भन्दा एक दिन अघि मात्र अर्थात आज बिहीबार ३२.३० अंकको सुधारले पनि यही संकेत गरेको हो ।
सरकारले भोलि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । ‘दिउँसोकाे संकेत बिहानीले गर्छ’ भनेजस्तै बजेट कस्तो आउँछ भन्ने संकेत सरकारको नीति तथा कार्यक्रमले दिने छ । आगामी आर्थिक वर्षको बजेटले लगानीकर्तालाई खुशी दिने अपेक्षा गरिएकाले पनि आज शेयर बजार बढ्न पुगेको हो ।
हिजो अर्थात बुधबार मात्र लगानीकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर शेयर बजार सुधारका लागि बजेटमा समावेश गर्नुपर्ने बुँदाहरु बुझाइसकेका छन् । प्रधानमन्त्री दाहालले लगानीकर्ताका उक्त बुँदाहरु बजेटमा समावेश गर्ने आश्वासन लगानीकर्तालाई दिएका छन् । त्यही आश्वासन पाएका लगानीकर्ताहरुले आज (बिहीबार) शेयर खरिद गर्न पुग्दा बजारमा सुधार आउन पुगेको हो ।






