काठमाडौं : नेप्से सूचक मंगलबार ३.२९ विन्दुले बढेको छ । यससँगै सूचक १८२१.६० अंकमा अडिएको छ । ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से फेरि १८०७ को विन्दुबाट फर्किएर विस्तारै अघि बढ्ने प्रयास गरेको देखिन्छ । मंगलबार सूचक झिनो अंकले बढे पनि बजारले अझै नीति निर्माताप्रति विश्वास गरेको देखिंदैन । केन्द्रीय बैंकले सेयर बजारलाई राहत पुग्ने गरी नीतिगत परिवर्तन नगरेको भन्दै सेयर लगानीकर्ता रुष्ट छन् ।
विशेषगरी, सेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्ने र १२ करोडको क्याप हटाउन लगानीकर्ताले माग गरेका थिए । तर समीक्षामार्फत त्यस्तो केही पनि हुन सकेन ।






