काठमाडौँ — उत्तर कोरियाली ह्याकरहरूले ५ वर्षको अवधीमा जापानबाट ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरेको रिपोर्ट बाहिरिएको छ । अमेरिकी ब्लकचेन विश्लेषक संस्था इलिप्टिकलाई उद्धृत गर्दै जापानी समाचार संस्था निक्केईले प्रकाशित गरेको एक रिपोर्टका अनुसार सन् २०१७ देखि सन् २०२२ का ५ वर्षमा उत्तर कोरियाली ह्याकरहरूले जापानी लगानीकर्ताबाट ह्याक गरेर झन्डै ७२१ मिलियन अमेरिकी डलर बराबरको क्रिप्टो मुद्रा चोरेका हुन् ।
इलिप्टिकका अनुसार सो अवधिमा उत्तर कोरियालीहरूले संसारभरबाट लगभग अढाइ बिलियन डलर बराबरको क्रिप्टो मुद्रा ह्याक गरेका थिए । त्यसको झन्डै ३०५ हिस्सा उनीहरूले जापानी लगानीकर्ताहरूबाट लिएको निक्केईको अनुमान छ । क्यानडा, फ्रान्स, अमेरिका, बेलायत, इटाली, जापान, र जर्मनी अर्थात् जी सेभेन राष्ट्रहरूका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको जापानको निगातामा शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तीमा क्रिप्टो मुद्रा चोरीलगायतका साइबर अपराधहरूको उचित सम्बोधन गर्ने सबैखाले उपायहरूमा सघाउने प्रतिबद्धता व्यक्त हुनेबित्तिकै इलिप्टिकको सो प्रतिवेदन सार्वजनिक भएको हो ।







