पछिल्ला महिनाहरूमा स–सानो विद्युतीय कारोबार बढे पनि ठूलो रकमको भुक्तानी भने निराशाजनक देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको चैत महिनाको विद्युतीय कारोबारको विवरणमा यस्तो पाइएको हो ।
तथ्यांकले यस्ता प्रयोगकर्तामात्र नभई कारोबार रकम र कारोबार संख्या पनि बढेको देखाउँछ । तर, ठूला कारोबारमा हुने विद्युतीय भुक्तानी प्रणाली अर्थात् आरटीजीएसतर्फ भने कारोबार बढ्नुको साटो झनै ठूलो दरले घटेको छ ।
स–साना भुक्तानीका लागि मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआर कोडलगायत माध्यम प्रयोग गरिन्छन् । राष्ट्र बैंकका अनुसार यस्ता विद्युतीय माध्यम प्रयोग गरी भुक्तानी गर्नेको संख्या, कारोबार संख्या तथा कारोबार रकम बढ्दो क्रममा रहेका छन् । चालु आवको चैतमा २ करोड ४ लाख ३४ हजारभन्दा बढीले मोबाइल बैंकिङमार्फत कारोबार गरेका छन् । गत आवको चैतमा १ करोड ७१ लाख ८२ हजारभन्दा बढी प्रयोगकर्ताले मोबाइल बैंकिङ प्रयोग गर्थे ।








