काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको स्पष्ट पारेका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुले सेयरका लागि प्रत्यक्ष कर्जा दिने अभ्यास विश्वका अन्य मुलुकमा नभएको तर नेपालमा रहेको भन्दै क्रमिक रुपमा अब ब्रोकरमार्फत नै कर्जा प्रवाह हुने बताए ।
करिब ३ दर्जन धितोपत्र दलालहरुलाई कर्जा स्वीकृत भइसकेको उनले बताए । समग्र वित्तीय प्रणालीलाई हेरेर राष्ट्र बैंकले आफ्ना नीतिहरु बनाउने उनले बताए । मौद्रिक नीतिको समीक्षामा छुटेका आवश्यक विषय आगामी साउनमा आउने मौद्रिक नीतिमा समेटिने गभर्नर अधिकारीले बताए । ‘बजेट समेत आइसकेपछि प्रशस्त छलफल र गृहकार्य गरेर त्यसका आधारमा मौद्रिक नीति तयार गरिनेछ, छुटेका आवश्यक विषयमा त्यसमा समेटिनेछ’ उनले भने । हाल अर्थमन्त्रालयसँग नजिकमा रहेर काम गरिरहेको उनले स्पष्ट पारे ।





