काठमाडौं : नागरिक लगानी कोषले गत वर्ष साउनमा घोराही सिमेन्टसँग प्रिमियम मूल्यमा आईपीओ अन्डरराइटिङ (प्रत्याभूति) को सम्झौता गर्यो। त्यसयता सेयर बजारमा तीव्र गिरावट आयो। घोराहीको आर्थिक परिसूचक पनि निकै ओरालो लाग्यो। करिब एक वर्षपछि कोषले भने पुरानै मूल्य अर्थात् ४ सय रुपैयाँमा त्यसको अत्यन्त जोखिमपूर्ण अन्डरराइटिङ गरेको छ।
आईपीओ निष्कासनमा घोराहीले अपत्यारिलो वित्तीय विवरण तयार पारेर लगानीकर्तालाई फसाउन खोजेको पाइएको छ। त्यसलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) का रूपमा रहेको नागरिक लगानी कोषले साथ दिएको हो। कोषका कार्यकारी निर्देशक रमन नेपालले त्यो जोखिमलाई घुमाउरो पारामा स्वीकारेका छन्। आवश्यक परे ‘पोजिसनको विश्लेषण’ गर्ने अभिव्यक्तिसमेत दिएका छन्।
‘गत वर्ष साउनमा गरिएको अन्डरराइटिङको सम्झौताको अवधि असार मसान्तसम्म छ। तत्कालीन अवस्थाको बजार अवस्था र सबै परिसूचक विश्लेषण गर्दा ४ सय रुपैयाँसम्म लगानी उपयुक्त रहेको ठहर गरेका थियौं’, कोषका कार्यकारी निर्देशक नेपालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सेयर बजार परिसूचक निकै तल्लो बिन्दुमा आएका कारण अहिले समस्या आएको हो। बजार सुध्रियो भने अफर गरेको प्रिमियम मूल्य पनि जस्टिफायबल नै हुनेछ। आवश्यक देखिए हाम्रो पोजिसनको विश्लेषण गर्ने तयारीमा छौं। केही गर्न सकिन्छ कि !’






