धितोपत्र बजारमा दोस्रो स्टक एक्सचेन्जको चर्चा छ। नेपालमा अर्को स्टक एक्सचेन्जको आवश्यकता के छ ?
व्यवसाय सानो होस् वा ठूलो, उत्पादन तथा सेवामा गुणस्तरका लागि प्रतिस्पर्धाको आवश्कता हुन्छ। हाल एउटामात्र स्टक एक्सचेन्ज (नेपाल स्टक एक्सचेन्ज वा नेप्से) सञ्चालनमा रहेकाले धितोपत्र बजार विकास तथा विस्तारमा अहिलेसम्म हासिल भइसक्नुपर्ने उपलब्धि हासिल हुन सकेको छैन। अर्थात्, यहाँ खाँचो प्रतिस्पर्धाको हो।
नेप्सेमा पूर्ण स्वामित्व सरकारकै छ। नेप्से निजीकरण गरेर प्राविधिक रूपमा बलियो बनाउने योजना गफमै सीमित रह्यो। चलिरहेको स्टक एक्सचेन्ज पुरानै सोचमा चलेको छ। निजी क्षेत्रको प्रवेश गराउन नसकिएका कारणले पनि प्रतिस्पर्धाका लागि नयाँ स्टक एक्सचेन्जको खाँचो छ। धितोपत्र बजार विकास तथा विस्तारको काममा चलिरहेको स्टक एक्सचेन्जले आवश्यक भूमिका खेल्न नसकेकाले दोस्रो बजार चाहिन्छ भन्ने महसुस हुन थालेको वर्षौं भइसक्यो।
सानो देश र सानो अर्थतन्त्रमा दुइटा स्टक एक्सचेन्जले सर्भाइभ गर्न सक्छन् ?
५० खर्ब कुल गार्हस्थ्य उत्पादन भएको मुलुकमा एउटा एक्सचेन्ज नै राम्ररी चल्न नसकेको कुरा सत्य हो। तर, नेप्से प्रभावकारी नहुँदा ठूलो पुँजी सेयर बजारमा आउन सकेको छैन। यदि सरकारी स्टक एक्सचेन्जलाई सुधार्न सक्दैनौं, अन्तर्राष्ट्रिय स्तरको बजार निर्माण गर्न सक्दैनौं भने दोस्रो स्टक एक्सचेन्ज ल्याउनुको विकल्प छैन।






