काठमाडौं ः विदेशी लगानीकर्ताले खरिद बढाएपछि अप्रिल महिनामा भारतीय सेयर बजारमा उल्लेख्य सुधार भएको छ । अप्रिलमा विदेशी संस्थागत लगानीकर्ताले १ खर्ब १६ अर्ब भारतीय रुपैयाँ (भारु) बराबरको सेयर खरिद गरेका छन् । यसअघि मार्च महिनामा पनि विदेशी लगानीकर्ताहरुले ७९ अर्ब ३६ करोड भारुको सेयर खरिद गरेका थिए । भारतीय सेयरहरुको उचित मूल्यांकन र राष्ट्रिय मुद्रा पनि कही बलियो बनेपछि विदेशी लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
विदेशी लगानीकर्ताहरुले खरिद बढाएका कारण अप्रिल महिनामा भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ ३.६०% ले बढेर ६१ हजार विन्दुमाथि उक्लिएको छ । यस्तै, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि ४.०६% ले बढेर १८ हजार विन्दुमाथि पुगेको छ । अप्रिलको अन्तिम सातामा विदेशी लगानीकर्ताहरुले सेयर खरिद आक्रामक बनाएका थिए । अन्तिम साता भारतीय सेयर बजार निरन्तर सकारात्मक बनेको थियो ।






