काठमाडौं : सेयर बजारले बल्ल सकारात्मक संकेत देखाएको छ । नेप्से सूचकमा दोहोरो अंकको वृद्धि हुँदा खरिदबिक्री रकम भने सामान्य रहेको छ । मंगलबार नेप्से सूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा आएको छ । केही दिनअघि १८ सयको लाइनमा झरेको बजार मंगलबार पुनः १९ सयकै लाइनमा आएको हो । यस दिन ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि बजार निरन्तर घट्दै १८ सयकै लाइनमा आयो ।
१९ सय विन्दुबाट पनि तल झरेपछि अब विस्तारै क्रेताहरु सक्रिय हुन लागेको संकेतहरु देखिएका छन् । तथापि, नेप्सेले अझै रफ्तार लिन भने सकेको छैन । लामो समय थला परेको बजारले बुलिस यात्रा तय गर्न केही समय लाग्ने गर्छ । नेप्से अघि बढ्नका लागि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ । नीतिनियम सेयर बजारमैत्री बन्नुपर्छ । यस्तै, आम लगानीकर्ताको मनोबल पनि सकारात्मक हुनुपर्छ ।






