काठमाडौं : अन्तर्राष्ट्रिय आइपीओ मार्केटमा पुनः चहलपहल बढ्न थालेको छ । सेयर बजार रिबाउन्ड हुन थालेसँगै आइपीओ मार्केटमा चहलपहल बढेको ब्लुमबर्गले उल्लेख गरेको छ । विशेषगरी एसियाली बजारमा आइपीओ लिस्टिङको क्रम बढेको छ । मार्च र अप्रिल महिनामा मात्रै विश्वभर करिब २५ अर्ब अमेरिकी डलर बराबरको आइपीओ बिक्री भएको ब्लुमबर्गले जनाएको छ । जुन यस वर्षको पहिलो २ महिनामा भएको बिक्रीको तुलनामा करिब दोब्बर धेरै हो ।
बजारको अस्थिरता कम भएसँगै हङकङदेखि मिलानसम्मका निष्कासनकर्ताहरुले आइपीओमा अवसर देखेका हुन् । विशेषगरी, आइपीओ गतिविधि एसियाली बजारमा बढी देखिएको छ । यहाँका क्षेत्रीय स्टक एक्सचेन्जहरुले नयाँ सेयर बिक्रीको करिब ८०% हिस्सा ओगटेका छन् । युरोपमा पनि आइपीओ सूचीकरण बढेको छ । तर मन्दीको चिन्ता कायमै रहँदा अमेरिकी निष्कासनकर्ताहरु भने अझैपनि केही निरुत्साहित देखिएका छन् । औसतमा जारी भएका आइपीओहरुका आकारहरु भने सानो देखिएको छ ।






