काठमाडौं : माई खोला हाइड्रोपावरको आइपीओमा ८४ करोड ९९ लाख ७४ हजार रुपैयाँको आवेदन परेको छ । यसमा आज (वैशाख १० गते) सम्ममा ७ लाख ४८ हजार ८१० जना सर्वसाधारण आवेदकले ८४ लाख ९९ हजार ७४० हजार कित्ताको लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६.६९ गुणा बढी आवेदन हो । कम्पनीले (वैशाख ८ गते) देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।






