सुवास निरौला
सरकारले दोस्रो बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर ८३ प्रतिशत घटेको छ। अघिल्लो वर्ष २०७८ वैशाख १ गतेदेखि २०७८ चैत्र ३० गतेसम्म १५ अर्ब ४७ करोड ४५ लाख ५५ हजार ८८७ रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो।
अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ अर्ब ९३ करोड रुपैयाँ कम पूँजीगत लाभकर प्राप्त गर्यो। गत वर्ष २०७९ साल वैशाख १ गतेदेखि चैत्र ३० गतेसम्म दुई अर्ब ५५ करोड नौ लाख ११ हजार तीन सय ११ रुपैयाँ मात्रै पूँजीगत लाभकर उठेको केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले जनाएको छ। जुन अघिल्लो वर्ष भन्दा ८३.५१ प्रतिशत कम हो।
अघिल्लो वर्ष भन्दा गत वर्ष किन कम लाभकर उठ्यो भन्ने प्रश्नको बनिबनाउ उत्तर सिडिएससीको छ। “गत वर्ष बजार घटेको कारण धेरै लगानीकर्ताले शेयरमा नाफा गर्न सकेनन्। जसका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष पूँजीगत लाभकर घटेको हो” सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले मेरो लगानी सँग भने। शेयर बजार के कारणले घट्यो भन्ने प्रश्नमा साझा उत्तर आउने गर्छ। “नेपाल राष्ट्र बैंकले ४/१२ को नीति अघि सार्नुको साथै शेयर बजार कस्ने नीति अख्तियार गरिएका कारण शेयर बजार घटेको हो” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले भने।






