ठूला लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जा बढाउन थालेका छन्। बैंकहरुको ब्याजदर घट्न थालेसँगै शेयर बजारका लगानीकर्ताले बैंकबाट लिने कर्जा बढाउन थालेका हुन्। विगत डेढ वर्षदेखि घट्दो क्रममा रहेको शेयर धितो कर्जा माघदेखि भने केहि बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघदेखि १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा धेरै बढ्न थालेको छ। घट्दो अवस्थामा रहेको १ करोड रुपैयाँभन्दा माथिको कर्जा माघमा २५ करोड २८ लाख रुपैयाँले बढेको थियो भने फागुन महिनामा ९४ करोड रुपैयाँले बढेको छ।
यस्तै ५० लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा पनि बढ्दो क्रममा छ। माघमा ७३ करोड ७१ लाख रुपैयाँले बढेको यस्तो कर्जा फागुनमा ४८ करोड रुपैयाँले बढेको छ।
माघ महिनादेखि बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका थिए जसले गर्दा उनीहरुले माघदेखि नै कर्जामा समेत प्रिमियम दर घटाएर ब्याजदर केहि सस्तो बनाएका थिए। बैंकहरुले ब्याजदर घटाउन थालेपछि शेयर बजारमा लगानी गर्न बैंकबाट कर्जा बढाएको लगानीकर्ताहरु बताउँछन्।
बैंकहरुले माघदेखि नै केही पुराना ऋणीको कर्जाको ब्याजदर घटाउन थालेका थिए। चैतबाट सबै कर्जामा ५ प्रतिशतसम्म मात्रै प्रिमियम लिने घोषणा गरेका थिए भने बैशाखबाट निक्षेपमा थप ब्याज घटाएका छन्। निक्षेपको ब्याज घटेकोले बैशाखबाट बैंकहरुको कर्जाको ब्याजदर पनि थप घटेको छ। यसले लगानीकर्ताहरुले बैंकबाट लिने कर्जा बढाउन थालेका छन्।






