मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आज सोमबार (बैशाख ४ गते) देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०३ बजेसम्ममा २ लाख ८२ हजार ६७३ आवेदकबाट ३१ करोड ६१ लख ८३ हजार रुपैयाँ बराबरको ३१ लख ६१ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाइएको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको ३.३८ गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरेकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै बिक्री भएको थियो ।
यस्तै कम्पनीको जारी पूँजीको २० प्रतिशत १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।
यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरीएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको ३ लाख ६८ हजार ३ कित्ता शेयर सहित सर्वसाधारणको लागि ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख २४ हजार ९१५ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।






