काठमाडौँ — अमेरिका, रूस, चीन र इरानको जत्तिकै सशक्त ह्याकिङ क्षमता भएको मानिने बेलायतको साइबर क्षमताको खासै चर्चा हुने गरेको थिएन । तर मंगलबार जारी प्रतिवेदनमार्फत् बेलायती सरकारले आफू अनलाइन बदमासीको विरूद्ध खुलेरै लागेको जनाउ दिएको छ ।जीसीएचक्यू भनेर चिनिने बेलायतको सरकारी सञ्चार प्रधान कार्यालयले भ्रामक समाचार फैलाउने वा मिथ्या सूचनामार्फत चुनावलाई प्रभावित गर्न खोज्नेहरूविरूद्ध आफ्ना ह्याकर परिचालन गर्ने अभियान सुरू गरेको जनाएको हो ।
गएको तीन वर्षमा यस्ता आक्रमणहरू बेलायतको गोप्य राष्ट्रिय साइबर फोर्स (एनसीएफ) नामक इकाइ मार्फत गरिँदै आएको थियो । उक्त एकाइ सन् २०२० यता जासुस र बेलायती सेना तथा जीसीएचक्यूका रक्षा अधिकारीहरूलाई सामेल गरेर गठन गरिएको समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।







