काठमाडौं । प्रिमियम मूल्यसहित आईपीओ निष्काशनको लागि ५ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डको तथ्यांक अनुसार ४ वटा जीवनबीमा कम्पनी र एउटा उत्पादनमूलक कम्पनीले अंकित मूल्यमा प्रिमियम रकम थप गरेर आईपीओ जारी गर्न भन्दै आवेदन दिएका हुन् ।
त्यसरी अनुमति माग्ने कम्पनीहरुमा सिटिजन लाइफ इस्योरेन्स, आइएमई लाइफ इस्योरेन्स, सन नेपाल लाइफ इस्योरेन्स, रिलायन्स लाइफ इस्योरेन्स र सोनापुर मिनरल्स एण्ड आयल छन् ।
सिटिजन लाइफ इस्योरेन्सले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको ११ करोड २५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ । सो कम्पनीले अंकित १०० रुपैयाँ मूल्यमा १९० रुपैयाँ प्रिमियम जोडेर २९० रुपैयाँमा आईपीओ निष्काशन गर्ने लागेको हो । कम्पनीले शेयरको बिक्रीका लागि एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिसकेको छ ।






