नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) ल्याउने दौडमा अर्को ब्रोकर कम्पनी पनि थपिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार शनि सेक्युरुटिज नयाँ टिएमएएस ल्याउने दौडमा थपिएको हो।
नयाँ टिएमएस ल्याउन भन्दै शनि सेक्युरुटिजले नेप्सेमा दिएको निवेदन स्वीकृत भएको छ। नेप्सेले उसको निवेदन स्वीकृत गर्दै एलओआइ समेत प्रदान गरेको नेप्सेका एक उच्च अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार शनिले भारतको चर्चित प्रविधि कम्पनी टाटा कन्सटेन्सीले उत्पादन गरेको टिएमएस ल्याउने छ। जसको लागि नेपालको सिएमटि क्यापिटल मार्केटले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने छ।
नयाँ टिएमएस ल्याउन दौडमा शनि तेस्रो लटमा एलओआइ पाएको हो। यस अघि ३३ ब्रोकर कम्पनीले पहिलो लटमा एकै पटक एलओआइ पाएका थिए। दोस्रो लटमा नासा सेक्युरुटिजले एलओआइ पाएको थियो। एलओआइ पाएका ३३ ब्रोकर कम्पनीको टिएमएसको काम अन्तिम चरणमा पुगेको छ। ३३ ब्रोकर कम्पनी अन्तिम परीक्षणको तयारीमा छन् भने नासाको स्थलगत निरीक्षणको चरणमा पुगेको नेप्सेले जनाएको छ।






