काठमाडौं : नेपाल धितोपत्र बोर्डमा ४ वटा जीवन बिमा कम्पनीहरुले प्रिमियम मूल्यसहित आइपीओ निष्कासन गर्न अनुमति मागेका छन् । आइएमई लाइफ, रिलायबल नेपाल, सिटिजन र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रिमियममा भाउमा सेयर बिक्री गर्ने अनुमति मागेका हुन् । आइएमई लाइफले यसअघि १०० रुपैयाँ अंकित मूल्यमा ६० लाख कित्ता सेयर आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको थियो । तर पछि यसले फेरि १७६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर बिक्री गर्न पाउँ आवेदन दिएको छ ।
बिमा प्राधिकरणले जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बिमालाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिइसकेको छ । पुँजी वृद्धिको निर्देशनपछि बिमा कम्पनीहरुले अधिकांशले यसअघि नै मर्जरबाट पुँजी बढाउने बिकल्प रोजिसकेका छन् । नियामक प्राधिकरणले सुरुमै हकप्रद सेयर जारी गर्न नदिएपछि कम्पनीहरुले मर्जर तथा एक्विजिसनको विकल्प रोजेका हुन् । आइपीओ बिक्री गर्न बाँकी रहेका जीवन बिमा कम्पनीहरुले भने प्रिमियममा सेयर निष्कासन गर्ने बाटो रोजेका छन् ।






