काठमाडौं : सिल्भरगेट बैंकमा संकट आएपछि घट्न सुरु गरेको क्रिप्टोकरेन्सीको बजार पुँजीकरण अहिले पुनः वृद्धि हुन थालेको छ । फाल्गुन १७ गते क्रिप्टोकरेन्सी लगानीकर्ताहरुको लागि सेवा दिँदै आएको सिल्भरगेट बैंकले वित्तीय विवरण सार्वजनिक गर्न नसक्ने बताएपछि क्रिप्टोकरेन्सीको समग्र बजार पुँजीकरणमा गिरावट आउन सुरु गरेको थियो । यद्दपि, क्यालिफोर्नियास्थित सिलिकन भ्याली बैंक बन्द भएपछि अमेरिकी सरकारले बैंकिङ प्रणाली बलियो बनाउन विभिन्न योजनाहरु सार्वजनिक गरेपछि क्रिप्टोकरेन्सी लगानीकर्ताले पुनः विश्वास कमाएका छन् ।
क्रिप्टोकरेन्सीको कारोबार सहज गर्दै आएको सिल्भरगेट क्यापिटलले २०२२ को चौथो त्रैमासमा १ अर्ब अमेरिकी डलरको नोक्सान देखाएको थियो । आफ्नो प्रमुख ग्राहक क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्स खारेज भएपछि यस बैंकले संकट व्यहोर्नु परेको थियो । बैंकमा देखिएको वित्तीय संकटको कारण लगानीकर्ताले क्रिप्टोकरेन्सी उद्योग झन प्रभावित बन्ने आंकलन गरेका थिए । ....








