काठमाडौं : अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको पाकिस्तानको सेयर बजारले भने लय समात्न खोजेको छ । यस देशले पछिल्ला हरेक महिना आर्थिक अवस्था खस्किएको वित्तीय विवरण प्रकाशित गरी रहँदा स्टक मार्केट संकेत ‘केएसइ १०० इन्डेक्स’ भने बढ्न सुरु गरेको हो । गत जनवरीको अन्त्यमा ३८ हजार ४ सयको विन्दुमा रहेको सूचक यस अवधिसम्म आइपुग्दा ४१ हजार ७ सयसम्म पुगिसकेको छ । यो करिब ९% को वृद्धि हो ।
देशको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको बेला सेयर बजार भने सकारात्मक हुन थालेको छ । गत फेब्रुवरी ९ मा ४२ हजार ४ सयसम्म पुगेको बजार सूचक त्यसपछि केही सामान्य करेक्सन भएर ४० हजारसम्म झरेको थियो । तर अहिले भने फेरि बढ्न सुरु गरेको छ । केही दिनअघि मात्रै स्टेट बैंक अफ पाकिस्तानले सरकारको ऋण करिब ५५० खर्ब रुपैयाँ (पाकिस्तानी मुद्रा) पुगेको रिपोर्ट सार्वजनिक गरेको थियो ।






