काठमाडौं । शुक्रबार भारतीय शेयर बजार राताम्मे बनेको छ । अघिल्लो दिनको कारोबामा अमेरिकी शेयर बजारमा आएको तीव्र कमीको प्रभाव एशियाका बजारमा पर्दा भारतीय बजारमा समेत हाहाकार देखिएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ५० आधार बिन्दुले बढाउने अनुमानले पनि बजारमा दबाब बढाएको हो ।
शुरुआती कारोबारमै प्रमुख शेयर परिसूचक सेन्सेक्स ७२४ दशमलव ५४ अंकले घटेर ५९ हजार ८१ दशमलव ७४ अंकमा आएको थियो । बजार बन्द हुँदा कमी केही घटेर ६७१ अंकमा झरेको थियो । बैंकका शेयर मूल्यमा आएको कमीले पनि लगानीकर्ताको मनोबल घटाएको विश्लेषण गरिएको छ ।






