सुवास निरौला
नेपाल स्टक एक्सचेन्ज “नेप्से” मासूचिकृत ऋण पत्रको बिजोग देखिएको छ। शेयर सूचकमा गिरावट आएसँगै ऋणपत्रको मूल्य समेत ओरालो लागेकाे छ।
दोस्रो बजारमा ४३ ऋणपत्र सूचिकृत छन्। जसमा ३६ ऋणपत्रको मूल्य फेस भ्यालु भन्दा तल छन् भने एकको मूल्यमा कुनै परिवर्तन छैन। वाँकी रहेका ६ को मूल्य माथि छ। जसमा सबैभन्दा बढी ‘मछापुछ्रे बैंक डिबेन्चर २०८५‘ को फेस भ्यालु भन्दा १०.११ प्रतिशत मूल्य बढी छ। वार्षिक १०.२५ प्रतिशत व्याज तोकिएको उक्त ऋण पत्रको मूल्य १० प्रतिशत बढी हुनुलाई खासै ठुलो मान्ने स्थिति छैन। किनकि उसको उक्त मूल्य गत भदौ १३ गते तय भएको हो। त्यस यता उसको कारोबार भएको छैन। जस कारण उक्त मूल्य नै निरन्तर रहनेमा शङ्का गर्न सकिन्छ। अरू बढी मूल्य भएका ऋणपत्रको पनि अवस्था उस्तै छ।
ऋणपत्रहरूमा सबैभन्दा कम मूल्य ‘नेपाल बैंक डिबेन्चर २०८७’ को छ। ८.५ प्रतिशत वार्षिक व्याज तोकिएको उक्त ऋणपत्रको मूल्य ७४० रुपैयाँमा झरेको छ। जबकि उसको फेस भ्यालु एक हजार रुपैयाँ हो। अहिले उसको मूल्य २६ प्रतिशतले घटेको छ। समग्रमा ऋणपत्रको मूल्य १.१० प्रतिशत देखि २६ प्रतिशत सम्म घटेका छन्।






