काठमाडौँ — गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब साढे १५ खर्ब रुपैयाँले घटेको छ । ०७८ भदौदेखि गत सोमबार (फागुन १५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
करिब अठार महिनाको अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ४६ अर्ब रुपैयाँले घटेको छ । यसको अर्थ सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको भन्ने हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम थियो । सोमबारसम्म आइपुग्दा यो २९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सोमबारसम्मको कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै अवस्थाको तुलनामा करिब साढे १५ खर्ब रुपैयाँले कम हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।





