काठमाडौँ — साताको पहिलो दिन कारोबार सुरु भएको १५ मिनेटमै सेयर बजारको परिसूचक नेप्से १९६३ अंकसम्म झर्यो । त्यसपछि भने क्रमिक रुपमा सुधार भई अन्ततः कारोबार बन्द हुँदा २०२७ अंकमा कायम रहृयो । यो अंक अघिल्लो कारोबार दिनको तुलनामा ४.५५ बढी हो ।
कुल २ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो । दिनभर कुल १४६ कम्पनीको मूल्य बढ्दा ६२ को मात्रै घट्यो भने ९ को स्थिर रहृयो । यस दिन भने सबैभन्दा धेरै लघुवित्त उपसमूह बढ्यो । सवा ११ बजेसम्म कतिपय लघुवित्तको मूल्य १० प्रतिशत घटेको थियो । सस्तो मूल्यमा आएका बेला माग बढ्न थालेपछि अन्तत: यस लघुवित्त उपसमूह नै सबैभन्दा धेरै बढ्यो । सो उपसमूह १०८ अंक बढ्यो । त्यस्तै विकास बैंक ३०, फाइनान्स २३, होटल तथा पर्यटन ७२, जलविद्युत् १८, निर्जीवन बीमा २७ र अन्य उपसमूह ३ अंक बढे । बैंकिङ उपसमूह ११, जीवन बीमा १३, उत्पादन १४ तथा व्यापार उपसमूह ३० अंक घटे ।





