काठमाडौ : भारतीय अर्बपति गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा आज बिहीबार पनि तीव्र गिरावट आएको छ । सेयर बजार खुल्नासाथ कम्पनीको सेयर भाउ २३% ले घटेको हो । बजार मूल्य २३४८ भारतीय रुपैयाँ (भारु) बाट घटेर १८१५ रुपैयाँसम्म झरेको हो । तर बजार खुलेको केही सयमपछि भने सेयर भाउ घट्ने दरमा कमी आएको छ । यो समाचार तयार पार्दासम्म यसको सेयर भाउ १२% ले घटेर १८८० रुपैयाँ आसपासमा कारोबार भइरहेको छ ।
अडानी इन्टरप्राइजेजको सेयर ५ दिनयता मात्रै ४०% ले घटिसकेको छ । कम्पनीको सेयर मूल्य घटसँगै गौतम अडानीको सम्पति (नेटवर्थ) पनि तल झरेको छ । केही महिनाअघि मात्रै विश्वका दोस्रो धनी रहेका अडानी अहिले १० सर्वाधिक धनी व्यक्तिहरुको सूचीबाट बाहिरिएका छन् । हाल अडानीको नेटवर्थ ७४.३ अर्ब डलरमा सीमित भएको छ ।






