माया खोला हाइड्रोपावर लिमिटेडले माघ १३ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको शेयरमा करिब साढे ५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार सोमबार ४ बजेसम्ममा ५.६३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आईपीओ ९ लाख ७४ हजार ७०८ वटा आवेदकबाट १ अर्ब १२ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १९ हजार १३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको ५.६३ गुणा बढी हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस अघि निष्काशन गरिसकेको छ ।
त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
हाल कम्पनीको जारी पूँजी एक अर्ब रुपैयाँ र चुक्ता पूँजी ६६ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।






