काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि माघ १२ गतेसम्म मात्र आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले विक्री अवधि नलम्बिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरीद माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारी दिएको छ । जुन मागभन्दा ६ दशमलव ८३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ ।






