काठमाडौं । नेसनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म १८ खर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्स्योट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको छ ।
रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार र्फछ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशतबराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेसमार्फत हुने गरेको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । आरपीएसअन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआईमार्फत उपलब्ध रहेका छन् ।








