गत कार्तिक ३ गते मार्जिन ट्रेडिङमा धमाकेदार इन्ट्रि गरेको नासा सेक्युरिटिजले लिमिट बढाएर २५ लाख पुर्याएको छ। सेक्युरिटीजले अबदेखि एउटै लगानीकर्तालाई २५ लाख सम्म ऋण दिने जनाएको छ।
सेक्युरिटिजले बुधवार एक विज्ञप्ति जारी गर्दै लिमिट बढाएर २५ लाख पुर्याएको जनाएको छ। उसले सार्वजनिक गरेको थप दुई योजना अन्तर्गत रहेर लगानीकर्ताहरूले २५ लाखसम्मको कारोबार गर्न सक्नेछन्। २५ लाख सम्मको कारोबार गर्ने लगानीकर्ताले ४० प्रतिशत रकम भुक्तान गरी ३० दिन सम्म रकम चलाउन पाउने छन्। ३० दिनकोलागि २५ लाख रकम चलाए बापत सेवाग्राहीले २४ हजार पाँच सय ५५ रुपैयाँ सेवा शुल्क बुझाउनु पर्ने छ। साथै २५ लाख रुपैयाँ नै ५८ दिनको लागि चलाउने सेवाग्राहीले ४९ हजार नौ सय ५५ रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी गत कार्तिकमा सार्वजनिक भएकाे साविक स्किममा सेवा शुल्क घटाइएको छ। उसले सार्वजनिक गरेको ३० दिने स्कीममा ४.४४ प्रतिशत र ५८ दिने स्किममा ७.१३ प्रतिशत शुल्क घटाएको जनाएको छ।
नासाले सार्वजनिक गरेको पहिलो स्किममा १० लाखको छ। लगानीकर्ताले ४० प्रतिशत हुन आउने मार्जिन रकम चार लाख रुपैयाँ भुक्तानी गरेपछि १० लाख रुपैयाँ बराबरको शेयर खरिद /बिक्री गर्न पाउने छन्। उक्त रकम लगानीकर्ताले ३० दिनसम्म चलाउन पाउने नासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १० लाख रुपैयाँको कारोबार गर्नेले सेवा शुल्क बापत अब ९ हजार पाँच सय ५५ रुपैयाँ मात्रै तिर्नु पर्ने छ। यस अघि उक्त सेवा लिने सेवाग्राहीले ९ हजार नौ सय ९९ रुपैयाँ तिर्ने गरेका थिए।
त्यसैगरी,दोस्रो स्किम ५८ दिनको छ। उक्त स्किममा लगानीकर्ताले १० लाख नै चलाउन पाउने छन्। तर उक्त रकम भने लगानीकर्ताले ५८ दिन चलाउन पाउने छन्। उक्त रकम चलाएबापत लगानीकर्ताले अब १९ हजार पाँच सय ५५ रुपैयाँ मात्रै तिर्नु पर्ने छ। यस अघि सोही स्किमको लागि २१ हजार ५८ रुपैयाँ तिर्नु पर्ने व्यवस्था थियो।






