काठमाडौ : पछिल्लो समय सेयर बजार बढेसँगै सूचीकृत कम्पनीहरुको बजार मूल्यमा वृद्धि भएको देखिन्छ । बजार न्यूनतम विन्दुमा आउँदा १५० रुपैयाँ आसपासमा खरीदबिक्री हुने गरेका कतिपय कम्पनीहरुको सेयर भाउ अहिले प्रतिकित्ता २०० देखि ३०० रुपैयाँ आसपासमा पुगेको छ । हाल नेप्सेमा सूचीकृत सबै सर्वसाधारण समूह तर्फका सेयरको मूल्य २०० रुपैयाँ भन्दा धेरै रहेको छ ।
बजार १८ सयको विन्दुबाट २२ सय आसपासमा पुग्दा सूचीकृत सबै कम्पनीहरुले भाउ बढेको हो । यस अवधिसम्म कतिपय कम्पनीहरु त ५०% भन्दा धेरैले पनि बढेका छन् । २०७८ भदौमा ३२ सय विन्दुबाट करिब १७ महिना घटेको बजार यही पुस ४ गतेबाट बढ्न सुरु गरेको हो ।
यद्यपि, सूचकमा बुधबार र बिहीबार भने केही करेक्सन देखिएको थियो । गत मंगलबारको क्लोजिङ २२११ को विन्दुबाट बजार ६२ अंकले घटेको छ । यससँगै पुनः कम्पनीहरुको सेयर भाउ केही घटेको अवस्था छ । तर पनि अझसम्म बजारमा कुनै पनि कम्पनीको सेयर भाउ २०० रुपैयाँ भन्दा तल झरेको छैन । सबैभन्दा कम सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २०३ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको २०५ रुपैयाँ र सिटिजन्स बैंकको २०६ रुपैयाँ रहेको छ । अरु सेक्टरहरुको सेयर त अझै महँगा छन् ।






