विष्णु बेल्बासे
पहिला सम्राज्यवादकाे विकसित रुप भन्दै शेयर बजारप्रति नकारात्मक अभिव्यक्ति दिएर विवादमा तानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय शेयर बजारप्रति सकारात्मक धारणा व्यक्त गर्न थालेका छन् ।
उनले शेयर बजारप्रति सकारात्मक व्यक्त थालेपछि धेरैले प्रचण्डलाई ‘युटर्न’ भएको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार शुभारम्भ समारोहमा पुँजी बजारमा देखिएको सकारात्मक अपेक्षालाई विश्वासमा बदल्ने भन्दै शेयर बजारप्रति सकारात्मक धारणा व्यक्त गरे । प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि व्यक्त गरेका सृंखलाबद्ध धारणाले के साच्चै नै शेयर बजारप्रति उनी युटर्न भएकै हुन त ? भन्ने प्रश्न जन्मिएको छ ।
मंसिर ४ गतेको निर्वाचन परिणामबाट नेकपा माओवादी केन्द्रले अपेक्षाकृत परिणाम हासिल गर्न सकेन् । शहरमा उसको उपस्थिति कमजोर हुन पुग्यो । दुर्गम निर्वाचन क्षेत्रमा मात्रै नेकपा माओवादी केन्द्रको उपस्थित हुन पुग्यो ।
यति हुँदा हुँदै पनि चुनावमा तेस्रो ठूलो दल बन्न पुग्यो । अहिले जेनतेन सरकारको नेतृत्वमा पुगेको छ। यसबेला पनि जनप्रिय काम गर्न सकेन भने अर्को आम निर्वाचनमा उसको उपस्थिति शुन्य हुने स्थिति निश्चित छ । त्यसैले पनि आम नागरिकलाई रिझाउने काम गर्न थालेको छ । करिव ५५ लाख लगानीकर्तामाझ ‘पपुलर’ बन्न पनि शेयर बजारप्रति प्रचण्डकाे युटर्न हुन पुगेको विश्लेषण गरिएको छ।
प्रचण्डले केही महिना पहिला शेयर बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका थिए । तर, अहिले युटर्न भएर शेयर बजारप्रति सकारात्मक धारणा व्यक्त गर्न थालेका छन् । प्रधानमन्त्री प्रचण्डले अबको आफ्नो बाँकी जीवन आर्थिक समृद्धिमा लगाउने पनि बताएका छन् ।
प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि नै सार्वजनिक गरेको घोषणा पत्रमा पुँजी बजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणमा जोड दिएको थियो ।
पुँजी बजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ । साथै, घोषणा पत्रमा गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजी बजारमा लगानी खुला गर्ने कार्यलाई दु्रतताकासाथ अगाडि बढाउने पनि भनिएको छ ।






