काठमाडौं : सेयर बजारले उकालै यात्रा कायम राखेको छ । बिहीबार नेप्से सूचक १७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा आएको छ । ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकममा पनि निकै तेजी आउन थालेको छ । सूचकसहित कारोबार रकम पनि बढिरहेका बजारमा लगानीकर्ताहरु उत्साहित बन्दै गएको अनुमान गर्न सकिन्छ । ९ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से इन्ट्रा डे करेक्सन हुँदै फेरि अघि बढ्दै गरेको छ । कम्पनीका सेयर मूल्यहरुले धमाधम माथिल्ला रेखाहरु कोरिरहेका छन् ।
यसआधारमा बजार बलियो बन्दै गएको जानकारहरु बताउँछन् । ठूलो करेक्सन नआउने तर इन्ट्रा डे मै मूल्य तल झर्दा क्रेताहरुले त्यसलाई अवसरका रुपमा ‘ग्रयाब’ गरिरहेको देखिन्छ । यसअघि बजार निकै छिटो तरिकाले घटेकाले अहिलेको बढोत्तरी पनि अलि फास्ट नै देखिएको छ । अझ २२ सयदेखि १८ सय आसपासमा त बजार निकै छिटो झरेको थियो, त्यही भएर अहिले त्यसको प्रतिक्रिया पनि सोही अनुसार दिएको अनुमान गरिएको छ ।






