सन् २०२२ मा नेप्से सूचक करिब २० प्रतिशतले घटेको छ। यस वर्ष तरलता अभाव र बढ्दो ब्याजदरले गर्दा नेप्से सूचकमा उच्च गिरावट देखिएको हो।
२०२१ को अन्तिममा २५२४.५० विन्दुमा रहेको नेप्से सूचक २०२२ अन्तिमसम्ममा २०२९.०३ विन्दुमा झरेको छ। जुन १९.६३ प्रसितशतको गिरावट हो।
नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि १६.९६ प्रतिशतले घटेको छ। उक्त इन्डेक्स ४१७.२४ विन्दुबाट घटेर ३९१.३१ विन्दुमा झरेको छ।
घट्दो क्रममा रहेको नेप्से सूचक र बैंकिङ्ग प्रणालीमा भएको तरलता अभावले गर्दा कारोबार रकममा पनि निकै गिरावट देखिएको छ। सन् २०२१ मा १८ खर्ब ९८ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएकोमा सन् २०२२ मा ५ खर्ब ५८ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।
- लगानीकर्ताको ६ खर्ब सम्पति गुम्यो
सन् २०२२ मा लगानीकर्ताको ६ खर्ब सम्पति घटेको छ। सबै कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्ताको सम्पतिमा संकुचन आएको हो।
यस वर्ष बजार पूँजीकरण ३५ खर्ब ६७ अर्ब रुपैयाँबाट घटेर २९ खर्ब ३४ अर्ब रुपैयाँमा झरेको छ। यो भनेको ६ खर्ब ३२ खर्ब अर्थात १७.७४ प्रतिशतको गिरावट हो।
आइपीओ जारी गरेर नेप्सेमा सूचीकृत हुने कम्पनीको संख्या उल्लेख्य बढेको भए पनि बजार पूँजीकरण भने ६ खर्ब बढीले घटेको छ।






