काठमाडौ : नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा आइपीओ निष्कासनका लागि अनुमति कुरेर बसेका कम्पनीहरुको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२ कित्ता सेयर सार्वजनिक निष्कासन गर्न अनुमति मागेका छन् । जसमध्ये १५ वटा हाइड्रोपावर, २ वटा इन्सुरेन्स, ४ वटा उत्पादन तथा प्रशोधन, २ वटा लघुवित्त संस्था, ५ अन्य र १–१ वटा होटल तथा प्रर्यटन र लगानी क्षेत्रका कम्पनीहरुले अनुमति पर्खेर बसेका हुन् ।
पछिल्लो समय प्रिमियममा आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुको संख्या पनि बढेको छ । साथै, केही कम्पनीहरुले बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न अनुमति मागेका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रिया पाइपलाइनमा रहेको छ । यिनीहरुले निष्कासन गर्न लागेको सेयरको ४०% हिस्सा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोही अनुसार यि दुवै कम्पनीले आवेदन दिएका हुन् ।s






