पछिल्लो समय मोबाइल वालेट ई–सेवा दुरुपयोग गर्दै पैसा ठग्ने क्रम बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर मोबाइल वालेटको दुरुपयोग गर्दै प्रयोगकर्ताको पैसा चोरी हुने क्रम ह्वात्तै बढेको हो ।
ह्याकरले फेसबुक ह्याक गर्ने र ई–सेवा आइडी प्रयोग गरी इमर्जेन्सी परेको भन्दै पैसा असुल्ने गरेका छन् । तर, यसबारे कम्पनी पूर्णरूपमा जवाफदेही बन्ने गरेको छैन । ई–सेवालाई आफ्नो पैसा ह्याकरले लगेको भनेर जानकारी दिन फोन गर्दा साइबर ब्यूरोमा जानू भनेर जिम्मेवारीबाट पन्छिने गरेको छ ।
फेसबुक ह्याक गरेर ई–सेवाको दुरुपयोग गर्दै ठगिनेमा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनासमेत परेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका तिमल्सिनाको फेसबुक ह्याक गर्दै गत वर्ष २०७८ मंसिरमा नजिकका साथीहरूलाई ई–सेवामा पैसा माग्दै म्यासेज जान थाल्यो । तर, तिमल्सिनाले तत्काल यसबारे जानकारी पाएलगत्तै रकम चोरी हुनबाट भने बच्यो ।








