काठमाडौँ — अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र परिसूचक दुवैले छलाङ मारेको छ । परिसूचक नेप्से ५९.८७ अंकले बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९८३ अंकमा कायम भएको छ ।
यसअघि सोमबार नेप्से ५६ अंकले बढेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर भएको छ । सोमबार २ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८८ करोडको धितोपत्र किनबेच भयो । २०२ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहृयो । सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढे । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।





