काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स र कालिका पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । अब मंगलबारदेखि यी दुवै कम्पनीको सेयर कारोबार पुनः सुरु हुनेछ । दुवै कम्पनीले दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले बिहीबारदेखि सेयर कारोबार रोक्का गरेको थियो । यता, नेप्सेले सेयर कारोबार रोक्का गर्दै दुवै कम्पनीलाई ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत निर्देशन दिएको थियो । दुवै कम्पनीले स्पष्टीकरण पेश गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।






