यीमध्ये तोकिएका शर्त पूरा नभएपछि एनआईसी एसियाले गत वर्ष पनि लाभांश दिएको थिएन भने सनराइजले ७, माछापुच्छ्रेले १४ र लक्ष्मीले ११.५ प्रतिशत लाभांश दिएका थिए । कृषि विकास बैंकबाहेक साधारण सेयर जारी गरेका सबै बैंकले लाभांश घोषणा गरिसकेका छन् । यो पटक पनि वाणिज्यमा नबिल बैंकले सबैभन्दा धेरै लाभांश दिएको छ । सो बैंकले १८.८ प्रतिशत सेयर र ११.५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको छ । कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद र ५ कित्ता थप सेयर लाभांशस्वरुप पाउँछन् ।
लाभांश घोषणा गरेकामध्ये ८ बैंकको बुक क्लोज हुन बाँकी छ । हिमालयन, सिभिल, नेपाल, प्राइम, नबिल, सिद्धार्थ, एसबीआई र एनएमबीको बुक क्लोज हुन बाँकी छ । एनएमबीको सोमबार बुक क्लोज हुँदैछ । बुक क्लोज भइसकेपछि सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्ष लाभांश पाउादैनन् । अर्थात् लाभांश पाउनका लागि बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्छ । गत वर्षको तुलनामा यस पटक अधिकांश बैंकको लाभांश घटेको छ । बीओके, एभरेस्ट, स्टान्डर्ड चार्टड, कुमारी, एनसीसी र एसबीआई बैंकको लाभांश गत वर्षको तुलनामा बढेको छ । ग्लोबल आईएमई र सिभिलको लाभांश गत वर्षकै बराबर छ ।





