काठमाडौं । गत वर्ष शेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश बाँडेको नबिल बैंकले यस वर्ष भने ३० प्रतिशत मात्रै लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारणसभा बोलाएको छ ।
गत वर्षको तुलनामा लाभांशदर घटाउने अर्काे बैंक हो– एनएमबि बैंक । गत वर्ष १५.८ प्रतिशत लाभांश बाँडेको उसले यस वर्ष भने ८.२५ प्रतिशत मात्रै लाभांश दिन लागेको हो । उसले लाभांशलगायत प्रस्ताव पारितका लागि पुस २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
नबिल र एनएमबि मात्रै होइनन्, यस वर्ष लाभांश घोषणा गरेका २० ओटा वाणिज्य बैंकहरूमध्ये १२ ओटाको लाभांशदर घटेको छ । लाभांशदर घटाउने बैंकहरूमा सिद्धार्थ, सानिमा, हिमालयन, प्रभु, सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट, प्राइम कमर्सियल, मेगा, सिटिजन्स र नेपाल बैंक छन् । तीमध्ये सबैभन्दा बढी लाभांशदर घटाउने बैंक प्राइम कमर्सियल हो । उसको लाभांशदर गत वर्षको तुलनामा झण्डै आधाले घटेको छ । गत वर्ष १६.६३ प्रतिशत लाभांश बाँडेको प्राइम कमर्सियलले यस वर्ष ८.९५ प्रतिशत लाभांश वितरण गर्दैछ ।






