७ पुस, काठमाडौं । अनधिकृत रुपमा सेयर कारोबार गरेपछि कारबाहीमा परेका ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेमाथि धितोपत्र बोर्डले गत हप्ताबाट ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार)मा पनि अनुसन्धान थाल्यो । नेपालमा पहिलोपटक सेयरको भित्री कारोबारमा तहकिकात अधिकारी तोकेरै इन्साइडर ट्रेडिङमा अनुसन्धान सुरु भएको हो ।
विगतमा ‘ओपन सेक्रेट’ रहेका इन्साइडर ट्रेडिङसम्बद्ध ‘केस’हरु यतिकै थन्किएका उदहारणहरुका कारण नेपाल धितोपत्र बोर्डले प्रधान र न्यौपानेमाथि अघि बढाएको तहकिकात निष्कर्षमा पुग्नेमा जानकारहरु विश्वस्त छैनन् ।
प्रधानले नेपाल हाइड्रो डेभलपर्स र न्यौपानेले रिडी पावर कम्पनीको अध्यक्ष पद छाड्नासाथ आफ्नो परिवारको नाममा रहेको सेयर कारबार गरेपछि अवैध कारोबारबापतको कारबाही भोग्नुपर्ने भइसकेको छ । गैरकानुनी रुपमा आफैं सञ्चालक रहेको कम्पनी वा सञ्चालकबाट बाहिरिएको एक वर्ष नपुग्दै एकाघर परिवारका सदस्यको नामबाट सेयर बिक्री गरेका उनीहरु कम शक्तिशाली सेयर लगानीकर्ता हैनन् ।






