काठमाडौँ — नोभेम्बरमा सम्पन्न अमेरिकी चुनावमार्फत स्वीकृत क्यालिफोर्निया कन्जुमर प्राइभेसी एक्ट (सीसीपीए) सम्भवतः १ जनवरी २०२३ बाट लागू हुनेछ । उपभोक्ता र तिनका वैयक्तिक सूचना संरक्षणको दिशामा महत्त्वपूर्ण मानिएको यो कानुनले आफूबारे संकलन गरिएका व्यक्तिगत जानकारी किन र के प्रयोजनका लागि जम्मा गरिएको हो भन्ने स्पष्ट जानकारी दिन्छ ।
कानुनले सो जानकारी मेटाउने र अनावश्यक लागे कुनै पनि बेला छोड्ने सुविधा हुने व्यवस्था पनि अघि सारेको छ । नेपालजस्ता द्रुत गतिमा सूचना प्रविधिको विकास र डेटा संकलन भइरहेका देशमा पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको विज्ञहरू बताउँछन् ।
बानियाँटारका अर्जुन रिमाललाई गोंगबुस्थित एक मलमा नयाँ सुपरमार्केट खुलेको र त्यसमा १० प्रतिशतसम्म छुट रहेकाले परिवारसहित आउनु भनेर दिनहुँजसो एसएमएस आइरहेको छ । आफू कहिले पनि त्यो मलमा नगएको र कसैलाई फोन नम्बर नदिएकाले कसरी म्यासेज आइरहेको छ भन्नेमा उनी बेखबर छन् । ‘यो म्यासेज नआउने बनाउन मिल्दैन ?’ उनको प्रश्न छ, ‘आफूलाई नचाहिने चिज रहेछ भने यस्ता म्यासेज ब्लक गर्न मिल्नुपर्ने होइन र ?’ पटक–पटक आइरहने यस्ता म्यासेजले हैरान बनाएको भन्दै उनले अब सिमकार्ड नै फेर्ने विचार गरेको बताए ।







